देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ ।

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ ।आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरू गर्ने जनाएको छ ।

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेर संसद्को पहिलो ठूलो दल बनेको छ ।

संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् ।कांग्रेसमा संसदीय दलको नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।

कांग्रेस संसदीय दलको विधान, २०७४ को दफा ६ मा सम्पूर्ण सदस्यको ५१ प्रतिशत मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । ‘संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको ५१ प्रतिशत सदस्यको मत प्राप्त गर्नुपर्नेछ,’ विधानको दफा ६ को उपदफा ४ मा भनिएको छ ।

दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

दुई प्रतिस्पर्धीमा ५१ प्रतिशत मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।