काठमाडौं – चुनावको नतिजा अन्तिम चरणमा आइरहँदा नेपाली कांग्रेसको संसदीय दलको नेताका दाबेदारीमा झन्डै आधा दर्जन नेताहरू देखिएका थिए, यद्यपि महामन्त्री गगन थापाले चुनावमा मत माग्दा नै आफूलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याएका थिए।
उनीबाहेक कसैले त्यसरी मत नमागे पनि निर्वाचित भएमा संस्थापन पक्षका नेता पार्टी सभापति शेरबहादुर देउवा नै स्वाभाविक दाबेदारको रूपमा मुलुकको राजनीतिक क्षेत्रले लिएको थियो । अघिल्लो गठबन्धनको प्रस्तावक आफू भएको र गठबन्धनकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मत माग्दा भावी प्रधानमन्त्रीको रूपमा उभ्याएको उनको क्षेत्रका मतदाताहरू स्मरण गर्छन् । थापाको दाबीपछि पूर्व महामन्त्रीको रूपमा कार्यकाल निर्वाह गरिसकेका प्रकाशमान सिंह र डा. शशांक कोइरालाको नाम जोडियो।
चुनाव जित्नेबित्तिकै कांग्रेसमा प्रतिपक्षी नेताको रूपमा देखिएका र गत महाधिवेशनमा ४१ प्रतिशत मत प्राप्त गरेका वरिष्ठ नेता डा. शेखर कोइरालाको दाबीलाई कांग्रेसजनले स्वाभाविक रूपमा लिएकै छन्। कांग्रेसमा संसदीय दलको नेता चुनिएपछि मात्र प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने प्रावधान विधानले गरेको छ। त्यसैले संसदीय दलको चुनावको मुखमा आइपुग्दा आधा दर्जनमध्ये सभापति देउवा महामन्त्री थापा र वरिष्ठ नेताद्वय पौडेल र डा. कोइरालाबाहेक अरुको स्वर झिनोमसिनो बन्दै गएको देखिएकोले चुनाव दुई प्रतिस्पर्धीबीच हुने सम्भावना बढ्दै गइरहेको देखिएको छ ।
संस्थापनपक्षमा निर्विवाद उम्मेदवार देउवा देखिएका छन् भने उनले साथ दिएमा पौडेलको उम्मेदवारी रहन सक्छ। संस्थापनइतर पक्षमा सुरुमा महामन्त्री थापामात्र एक्लो प्रतिस्पर्धी देखिएकोमा अहिले आएर यस पक्षका नेता डा. कोइरालाको दाबी बढेको छ। इतरपक्षका सवै नेताहरू एकल उम्मेदवार बनाउने कसरतमा लागेको देशान्तरलाई जानकारी प्राप्त भएको छ।
संसदीय दलको नेताको रूपमा आफ्नो दाबी प्रस्तुत गर्न हिजो शनिबार सरकारी निवास बालुवाटारमा शुभकामना आदानप्रदानको निहुँ बनाएर प्रधानमन्त्री देउवाले भेला बोलाई आफ्नो दाबीसमेत प्रस्तुत गरेको भेलामा सहभागी सांसदहरूले देशान्तरलाई बताएका छन्। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउनकै लागि आज आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउनकै लागि निर्वाचन समिति गठन गर्ने र १ साताभित्रै संसदीय दलको नेता चयन गरिसक्ने बताइएको छ ।
कांग्रेसबाट निर्वाचित सांसद हेर्दा सभापति देउवा सहज बहुमतमा देखिन्छन् । तर, महामन्त्री थापाले देउवालाई चुनौती दिँदै चुनावअघिको अनुमानित नतिजा परिवर्तन गर्ने संकेत गरेका छन्। शेखर र गगनमध्ये एकजना मात्रै उम्मेदवार बन्ने यो समूहको भनाइ छ । त्यस्तै, पौडेल, सिंह र शशांकले भने देउवालाई समर्थन गर्ने बालुवाटार स्रोत बताउँछ ।एक पटक प्रधानमन्त्री बन्न इच्छुक पौडेलले विभिन्न नेताहरूसँग छलफल गर्दै देउवासँग सहयोगको अपेक्षा राखेका छन् । सांसद संख्यामा कमजोर पौडेललाई प्रकाशमान र शशांकले साथ दिए पनि सहज छैन । उनीहरूसँग भन्दा बढी सांसद शेखर गगनको पक्षमा छन्।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट निर्वाचित ८९ मध्ये बहुमत संख्या देउवाको पक्षमा देखिएको छ। टिकट वितरणमै देउवाले आफूपक्षीय धेरै नेताहरूलाई उम्मेदवार बनाएको र समानुपातिक सूचीमा पनि आफू पक्षीयलाई नै समेटेका छन्। प्रत्यक्षतर्फ निर्वाचित ५७ मध्ये संस्थापनका ३३ र इतर समूहका २४ सांसद रहेको बताइन्छ। त्यस्तै शेखर–गगन समूहका ३४ सांसद रहेको अनुमान गरिएको छ ।
सभापति देउवाले त निर्वाचित सांसदहरूलाई एकएक गरेर बालुवाटार बोलाउँदै दलको निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् । शंका लागेका कतिपय सांसदलाई त देउवाले आफूलाई भोट हाले आगामी सरकारमा मन्त्री बनाइदिने आश्वासनसमेत दिन थालेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले खुलेर गगन थापाको पक्षमा लविङ गरेका छन् । शर्माले त सहमतिमै देउवाले थापालाई छोड्नुपर्ने बताएका छन् । आफैं गगनको प्रस्तावक बन्ने उनको घोषणा छ ।
कांग्रेस संसदीय दलको विधान, २०७४ अनुसार सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ। ‘संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ,’ विधानको दफा ६ को उपदफा ४ मा भनिएको छ।
दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ। पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ।





प्रतिक्रिया