काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, र महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसको संसदीय दलको नेताका चयनका लागि भोलि बिहान ८ बजे देखि १० बजे सम्म मतदान हुनेछ । उम्मेदवारी लागि आज दिइएको निर्धारीत अन्तिम समयसम्म देउवा र महामन्त्री थापाको मात्र मनोनयन दर्ता भएको हो ।
देउवाको प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्ण बहादुर खडका रहेका छन् । भने थापाको प्रस्तावकमा बरिष्ठ नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । थापालाई केन्द्रिय सदस्य प्रदिप पौडेलको पनि समर्थन रहेको छ ।
संसदीय दलको एकल उमेदवार तय गर्न संस्थापन इतर पक्षबीच सोमबार र मंगलबार भएका चरणबद्ध छलफल पछि थापाको नाममा सहमती बनेको थियो । संसदीय दलका आकाँक्षी नेता डा. शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गरेको बताए ।
आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा भएकाले महाधिबेशनको मर्म अनुसार यो निर्णय लिएको भनाई राख्नु भएको थियो । भोलि हुने कांग्रेस संसदिय दलको निर्वाचनमा कांग्रेसका ८९ जना सांसदले मतदान गर्नेछन् ।





प्रतिक्रिया