देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२२औँ आहा ! रारा पोखरा गोल्डकपमा प्रतिस्पर्धा गर्ने १० टिमको टुंगो लाग्यो

देशान्तर

काठमाडौं – पोखरामा हुन लागेको २२ औँ आहा! रारा गोल्डकपमा प्रतिस्पर्धा गर्ने १० टिमको टुङ्गो लागेको छ । यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशिमा समेत यसै संस्करणबाट वृद्धि भएको छ ।

आयोजक सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता सञ्चालन गर्ने भनी एन्फाबाट समय तालिका प्राप्त गरेको भए पनि पुस १३ गतेको मैत्रीपूर्ण खेलका कारण प्रतियोगिता दुई दिन पछि सरेको हो । यसअघि १२ टिम सहभागी हुने भनिएको भए पनि यही कारण अहिलेसम्म १० टिमको छिनोफानो भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रतियोगितामा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी, नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मच्छिन्द्र क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने भएका छन्। गत वर्षको खेलमा एपिएफ विजेता र उपविजेता मनाङ मर्स्याङ्दी क्लब उपविजेता बनेका थिए।

यसपटकको संस्करणबाट विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख रुपैयाँ पुरस्कार राशि वृद्धि गरिएको छ । गत वर्ष विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाएको भए पनि यस संस्करणमा भने विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।