काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । बुटवलमा रूपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेकी हुन् ।
देशको व्यापार घाटा बढिरहेको, आयात झनै विस्तार भएको र मुद्रा सञ्चितिमा अभूतपुर्व चाप परेको भन्दै उनले अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । विमानस्थललाई व्यवस्थित रूपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिने भन्दै उनले यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी रहेको बताइन् ।





प्रतिक्रिया