काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरेको थियो । जहाजबाट पुगेका प्रधानमन्त्री प्रचण्डलगायतलाई रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गरिएको हो ।
अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो ।
पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन । ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन् ।
मुस्ताङको जोमसोम र मनाङको हुम्देमा पुरानो विमानस्थलबाटै उडान हुनेछ भने हेलिकप्टर पनि पुरानो विमानस्थलबाटै उडान तथा अवतरण गर्ने बताइएको छ ।








प्रतिक्रिया