देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगामी तीन दिन अत्यधिक चिसो बढ्ने

देशान्तर

काठमाडौं – आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न सुझाव दिएका छन् ।

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आइतबारदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।

उनले पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए ।

उनले मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए । उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरूमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताए ।