देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताए ।

“मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उनले भने, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरे ।

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे । उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे । “म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिएका छन्, यसका लागि धन्यवाद दिन चाहन्छु”, उनले भने ।

सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । “मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवद्र्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु”, उनले भने ।