देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन- इमान्दारिता र पारदर्शितामा ध्यान दिनुस्

देशान्तर

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इमान्दारिता र पारदर्शितामा ध्यान दिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । सोमबार मन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सुशासन प्रत्याभूत हुनेगरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देशन गरेका हुन् ।

न्यायमा सवै जनताको पहुँच हुनेपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’

आवाज बिहिनहरुको आवाज सुन्न भन्दै उनले भने–‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुहुँदैन ।’ भर्चुअल बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए । आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै गृहमन्त्रीले बैठकमा भने–‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’

लामिछानेले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यस्तै शीतलहरको समस्या न्युनीकरण गर्न चुस्त योजनाका साथ अघि बढन् उनले सुरक्षा प्रमुखहरु र प्रजिअहरुलाई निर्देशन दिए ।