देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

देशान्तर

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ ।

जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।
कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित ¥याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताउनुभयो ।

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षण गरेकोे छ । र्‍याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने भएकाले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताउनुभयो ।
कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ ।

पर्वतको नयाँ पुलबाट विगत १४ वर्षदेखि र्‍याफ्टिङ गर्दै आउनुभएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित र्‍याफ्टिङ सञ्चालनको सम्भावना बढिरहेको बताउनुभयो ।

गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयोे । गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि रु एक हजार दुई सय शुल्क तोकिएको छ । यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ ।

अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार–प्रसार गरिएको छ ।