दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. २ सुकाठोकरमा तीन शक्ति भएका आपत, विपत तथा दुर्घटनाबाट जोगाउने ऐतिहासिक धार्मिक तीर्थस्थल गाईखुरा महादेवको मूर्ति हेर्न र पूजापाठ गर्न आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
आध्यात्मिक धार्मिक पर्यटकीय महत्वको रूपमा परिचित प्रसिद्ध धार्मिकस्थलको निर्माण गर्न दाताको खोजी गरिएको छ । मनोकामना पूरा हुने, अकालमा मृत्यु हुनबाट बचाउने, रोगव्याधि नलाग्ने, निःसन्तान जोडी सोमबार आएर रुद्री, चण्डी, सवा लाख बत्ती बालेर पूजा आराधाना गर्दा चाहेको सन्तान प्राप्त हुने, परिवारमा कुनै संकट नपर्ने विश्वासले भक्तजनमा आकर्षण बढ्दै गएको छ । गाईखुरा महादेवको मूर्तिमा गाईको पाइँला, थुन र खुर बाघको पञ्जा, शिव लिंग प्रस्ट देख्न सकिन्छ । दुई जीवित पहेँला नाग बेलाबेलामा शिलालाई बेरेर बस्छन् । यो शिला कसैले बनाएर राखेको हैन गाईले आफैं दूध झारी रहेको अवस्थामा गोठालाले देखेर खनेर हेर्दा यो शिला पत्ता लागेको स्थानीयको भनाइ छ ।
कम्तीमा पनि तीन चार सय वर्ष पहिलाको हुनुपर्छ । गाईखुरा महादेवको मन्दिरमा आएर रुद्री पूजा आराधना गरी गाईको दूध र तीलको तेल चढाएर वरदान माग्दा मागेको वर पाइने हुँदा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरू आउने गर्दछन् । कतिपय सदरमुकाम चरीकोटमा बास बसेर भोलिपल्ट दोलखा भीमेश्वरको दर्शन गरी गाईखुरा महादेव मन्दिरमा दर्शन गर्न जाने गरेका छन् ।

सडक सञ्जाल जोडिएसँगै दैनिक यो मन्दिरमा रुद्री, वेद, सवालाख बत्ती बाल्ने र घुम्नका लागि आउने धार्मिक पर्यटकको संख्या बढेको मेलुङ गाउँपालिका वडाध्यक्ष रामकृष्ण भण्डारीले बताएका छन् । चरीकोट देखि १७ कि.मि. तामाकोसी र तामाकोसीबाट १३ किलोमिटर यात्रा गरेर गाईखुरा महादेवको मन्दिर पुग्न सकिन्छ । अहिले मन्दिरमा दर्शन गर्ने र घुम्न आउने आन्तरिक धार्मिक पर्यटकको संख्या बढेको छ ।
विकटता तथा प्रचारप्रसारको कमीको कारण छायामा परेको स्वयम् उत्पन्न गाईखुरा महादेव मन्दिरको विकासको लागि मेलुङ गाउँपालिकाले कम्पाउन्डलगायत विभिन्न कार्यक्रम तथा पूर्वाधार निमार्णको काम गर्दै आइरहेको गाउँपालिकाका प्रमुख हीरा थोकरले बताए । गाईखुरा महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलकोे रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको वृद्धि गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणका लागि डीपीआर तयार गर्ने थोकरले बताए ।
साथै संघीय सभासद् गंगा कार्की, प्रदेश सभासद् कुन्दनराज काफ्लेले गाईखुरा महादेवलाई नमुना धार्मिक, पर्यटकीय तीर्थस्थल बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्थाले विभिन्न सामाजिक तथा धार्मिक कार्य मन्दिर क्षेत्रमा गर्दै आइरहेको र धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउँदै आएको छ । १० घरलाई होम स्टेको व्यवस्था गर्न माग गरिएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटी २ लाख ३१ हजार जम्मा भएको कोषाध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।
आफू र आफ्नो परिवारको सुरक्षाको लागि स्थानीयले पालैपालो पूजा गर्दै आएको र केही समयदेखि अखण्ड दियो बत्ती बाल्दै आएका छन् । कालिञ्चोक भगवती र दोलखा भीमेश्वर मन्दिर दर्शन गरी गाईखुरा महादेव मन्दिर पनि दर्शन गरी मन्थली, खुर्कोट हुँदै फर्कने गर्दछन् । काठमाडौंको कोटेश्वरबाट दैनिक मन्दिरसम्म जाने बसको व्यवस्था छ ।






प्रतिक्रिया