काठमाडौँ – उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने आन्दोलनमा रहेकी रूबी खानलाई भेटेर दोषीलाई संरक्षण गर्नेलाई पनि कारबाही गर्ने बताएका छन्।
निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न शनिबार दिउँसो गृहमन्त्री लामिछाने माइतीघर मन्डला पुगेका थिए । त्यहाँ उनले रूबी लगायतलाई निर्मला कुर्मीको हत्या आरोपितलाई संरक्षण दिनेलाई पनि कारबाही गर्ने बताएका हुन्।
‘म सरकारको गृह मन्त्री भएको हिसाबले पनि तपाईंलाई ग्यारेन्टी छ । तपाईंहरू यहाँ बस्दा पनि नबस्दा पनि यसको संवेदनशीलतालाई बुझ्छु । यसको जटिलतालाई पनि तपाईंहरूले बुझिदिनुहोला,’ उनले भने,‘कोही पनि मानिस जोकोहीले संरक्षण गरेको छ भने, प्रमाण पाएभने संरक्षण गर्नेलाई पनि कारबाही गर्छु । तपाईंहरू निर्धक्क हुनुहोस्।’
उनले अनुसन्धानको प्रक्रियालाई आफूले पनि नियालिरहेको बताएका छन्। यस्तै विगतमा भएका कमिकमजोरीलाई पनि सच्याउनुपर्ने उनले बताए।
त्यस्तै लामिछानेले रूबीलगायतलाई घर फर्किनलाई पनि अनुरोध गरेका छन्। रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्।
उनीहरूले विधवा महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या गरेको भन्दै न्याय माग गरिरहेका छन् । रूबी खानलगायतले यो तेस्रो चरणको आन्दोलन गरेका हुन्।
सरकारी पक्षसँग बारम्बार छलफल गरेपनि न्याय नपाएको उनीहरूको गुनासो छ।





प्रतिक्रिया