देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

देशान्तर

काठमाडौँ – सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।

छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

यसअघि बाँकेको नेपालगञ्जमा र डोटी पुगेका कैलालीको गौरीगंगाका एक बालकमा दादुरको सङ्क्रमण देखिएको थियो । दादुरा निकै सङ्क्रामक रोग भएकाले यो छिट्टै महामारीका रुपमा फैलिने जोखिम हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दादुराको सङ्क्रमण अन्य ठाउँमा पनि भएको हुन सक्ने आशङ्कामा निगरानी गर्न सबै पालिकालाई निर्देशन दिएको जानकारी दिए ।

कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने उनले बताएका छन् । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन उनको आग्रह छ।

नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखेता पनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो ।

तर यही समयमा फेरि दादुराका सङ्क्रमित भेटिन थालेका छन्।