देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छः मन्त्री लिङदेन

देशान्तर

काठमाडौंं -उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् ।
शनिवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका मन्त्री लिङदेनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको बताए । उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए ।

उनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासन हीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको बताए । उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे।

मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । उनले विद्यार्थी नेताहरु स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।

उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन विश्वविद्यालयका प्राध्यापकहरुलाई कालोमोसो दल्ने र ताल्चा लगाउने संगठन नहुने बताए ।