काठमाडौं । नेपाल प्रहरीमा अहिले पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा सिफारिस भए पनि भावी आईजीपीको रूपमा चर्चा पनि सुरु भइसकेको छ । कारण हो, अब बन्न पाँच एआईजीबाट महानिरीक्षक (आईजीपी) छानिने छन् ।
आगामी चैत ११ मा वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह सेवा अवधिको कारण नियमित अवकाशमा जाँदा अहिले बढुवा भएका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाटै नयाँ आईजीपी बन्ने पक्का पनि भएको छ । गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वर्तमान आईजीपी सिंहको ब्याजीहरूबाट बढुवा गरेन् । जसका कारण यसअघि आईजीपी सिंहकै ब्याचका ३ जना पनि सिंहसँगै चैत ११ गते बिदा हुनेछन् ।
सिंहसँगै पुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ अवकाशमा जानेछन् भने वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य बढुवा भएका छन् । बढुवाको पहिलो नम्बरमा रहेका कुँवरलाई भावी आईजीपीको रूपमा पनि हेरिएको छ । कुँवर एसएसपीबाट डीआईजीमा बढुवा हुँदा पनि पहिलो नम्बरै रहेका थिए । कुनै चलखेल नभए कुँवर आईजीपी बन्ने पक्कापक्की भए पनि यसअघिका नजिर हेर्दा तलमाथि नहोला भन्न सक्ने अधार भने छैन ।
विगतमा वरीयता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउने गरिएको भए पनि अघिल्लो आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजबिजी अधिकारका रूपमा व्याख्या गरेको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार एआईजीमा बढुवा हुने पाँचै जना आईजीपीको दाबेदार हुन् ।
टेकप्रसाद राई दोस्रो, दीपक थापा तेस्रो, श्यामलाल ज्ञवाली चौथो र किरण बज्राचार्य पाँचौं स्थानमा छन् । यी पाँचमध्ये १ जना आईजीपी बन्नेछन् । ११ चैतपछि नेपाल प्रहरीमा थप चार जना एआईजी पदको दरबन्दी रिक्त हुनेछ । ३ जना वर्तमान आईजीपीका ब्याची र १ जना अहिले बढुवा भएकाबाट आईजीपी भएपछि ४ पद रिक्त हुँदा अहिले बाँकी रहेका डीआईजीबाट एआईजी बनाइनेछ । त्यसमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् ।





प्रतिक्रिया