देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संवैधानिक आयाेगहरूलाई जागिर खाने ठाउँकाे रूपमा विकास गर्न हुँदैन: तिमिल्सिना

देशान्तर

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए ।

उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरे । ‘आयोगहरूलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्नु हुँदैन । त्यो उपलब्ध गराउनु पर्छ । र, आयोगहरूले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरू, परिभाषित कामहरूलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईहरू रचनात्मक हिसावले लाग्नुहुुन्छ । त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ । सबै आयोगहरूका लागि त्यही नै हो । र, खासगरी मुस्लिम आयोगको कुरा गरिरहँदा मुस्लिम समुदाय जो हाम्रो देशमा जहाँजहाँ रहनुभएको छ । ती बस्तीहरूमा म के आग्रह गर्छु भने कि आयोग आयोगका लागि होइन । आयोग जागिर खाने थलो बनाउनका लागि कुन बेला कुन हुन्छ ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन,’ तिमिल्सिनाले भने।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए ।

उनले आयोगका लागि आवश्यक स्रोत, साधानको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए ।