देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका लिम्बूको मृत्यु

देशान्तर

काठमाडौं– कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’को मृत्यु भएको छ । कोशी प्रदेश गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका लिम्बूको शुक्रबार बिहान मृत्यु भएको हो ।

धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।

सशस्त्र प्रहरीको लाठी प्रहारबाट टाउकोमा गम्भीर चोट लागे पनि उनी घरैमा उपचाररत थिए तर बुधबार राति रिंगटा चलेर बान्ता गरेर अचेत भएपछि बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्ष हुँदै आईसियुमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा उनको मृत्यु भएको थियो । उनको शुक्रबार बिहान साढे २ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्गर्ष समितिले जनाएको छ ।