देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ: प्रभु साह

देशान्तर

आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको दावी गरेका छन् । सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वाससमेत व्यक्त गरे ।

उनले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ। हामीले आशा राखौँ- उहाँको कार्यकालमा विभिन्न चुनौतीहरूमा सुधार होस् । हामी विश्वास प्रकट गर्न चाहन्छाैँ । अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन्। प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ। जनताले धितो राखेर पनि बैंकबाट पैसा पाइराखेका छैनन् । उत्पादनको लागि पैसा पाइराखेका छैनन् । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो ।’

अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटकपटक दोहोर्‍याए ।

क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ थियो ।