देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्र सिकिस्त बिरामी छ: शेखर कोइराला

'निजी क्षेत्रलाई चलायमान बनाउनुपर्छ, युरोप र अमेरिकाजस्तो बैंकिङ संकट आउन दिनुहुँदैन'

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र सिकिस्त बिरामी भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा उनले व्यापार घटेको र बेरोजगारी बढ्दै गइरहेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

कोइरालाले काम गर्ने उमेरका एक तिहाइ केही आर्थिक उपार्जन नगरी बस्ने भन्दै यो अवस्था भयावह भएको बताए । फरक शैलीमा विश्वमा नयाँ शीत युद्ध शुरू भएको भन्दै उनले नेपालको अर्थतन्त्र पनि खस्किँदै गएको प्रति चिन्ता व्यक्त गरे । ‘देशको अर्थतन्त्रले गति लिएको छैन। फजुल खर्च बढेको छ। अर्थतन्त्रको मेरुदण्ड विप्रेषण मात्र छ । विप्रेषणले श्रीलंका हुनबाट जोगाएको छ, तर यसमै भर पर्न हुँदैन,’ उनले भने ।

संसार सामरिक द्वन्द्वमा परेको भन्दै उनले वर्तमान सरकारका सामु चुनौतीका चाङ रहेका बताए। ‘तर भरोषा लिएर अगाडि बढे‍ सम्भावना छ । विश्वासको मत लिन सजिलो छ, तर टिकाउन गाह्रो छ, ‘ कोइरालाले भने । ​

सांसदभित्रको गणितभन्दा जनताको विश्वास लिन महत्वपूर्ण हुने उनले बताए । ​

ऋण नलिई राज्य सञ्चालन गर्न गाह्रो भएको उनको भनाइ थियो। ‘देशको सबल अर्थतन्त्र बनाउन फजुल खर्च घटाउन राजनीतिक सहमति कायम गरेर अगाडि बढौँ’, उनले भने, ‘देशमा अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्रीले मात्र इच्छाशक्ति देखाएर नपुग्ने र मन्त्रीहरूलाई तलमाथि गर्न दिन हुँदैन।’

साझा संकल्प र प्रत्यन्त्रबाट निजी क्षेत्रलाई चलायमान बनाउन सकिने उनले बताए । भने, ‘युरोप र अमेरिकाजस्तो बैंकिङ संकट आउन दिनुहुँदैन ।’

जनतामा आशा र भरोषा नजोगाई लोकतन्त्र बलियो नहुने उनले बताए ।