काठमाडौं । विगतमा माओवादी केन्द्रमा रहेर पटकपटक उच्च लाभको पदमा बसेका तर अहिले एमालेमा रहेका दुई वरिष्ठ नेताहरूलाई मानव तस्करीको आरोप लागेको छ । जनताको मुक्तिका लागि भन्दै सशस्त्र क्रान्तिको नारा लगाएर सत्तामा पुगेकाहरू अहिले त्यहाँ आफ्नो स्वार्थ नमिल्दा माओवादी केन्द्रमात्रै छाडेका छैनन् कि एमालेमा प्रवेश गरेर आफूलाई जोगाउनका लागि पनि उनीहरू लागेको पनि पुष्टि हुन्छ । भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्बास गरिए पनि अलपत्र केही शरणार्थीको समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा तत्कालीन गृह सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको थियो । त्यतिबेलाको कार्यदलले प्रतिवेदन बुझाएको केही मिनेटमै उपशीर्षक बनाएर पैसा असुल गर्ने बाटो समाएका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी पछि एमालेमै बसेर ओलीको संरक्षण खोज्न पुगेका थिए ।
सन् १९८० देखि १९९० को बीचमा भुटानबाट नेपाली भाषीहरू लखेटिएर झापामा झन्डै एक लाख शरणार्थीहरू नेपाल आएर बसेकोमा अहिले अधिकांश तेस्रो मुलुक पुगिसकेका छन् । केही सीमित संख्यामा रहेका भुटानी शरणार्थीलाई देखाएर नेपालकै राज्य तहको नेतृत्व गरिसकेका व्यक्ति र उनका परिवारलाई कमाइखाने धन्दा नै भएको छ । सुरुमा भुटानबाट लखेटिएकाहरूलाई पुनः उनीहरूकै देश फर्काउन पहल गरिए पनि त्यो समम्भव नभएपछि अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहयोगमा केहीलाई युरोप, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकहरूमा पुनर्बास गरिएको हो । तर अहिले शिविरमा रहेका शरणार्थीलाई तेस्रो मुलुक अमेरिका लैजानेभन्दा पनि उनीहरूको संख्या देखाएर नक्कली शरणार्थी लैजाने धन्दामा संलग्नहरू पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।
यो प्रकरणमा देशका पूर्वगृहमन्त्री नै जोडिएपछि अहिले राजनीतिक नेतृत्वप्रति फेरि एकपटक प्रश्न उब्जिएको छ । अधिकार र अख्तियार प्राप्त व्यक्तिले राम्रो काम गर्नुको साटो त्यही पद भजाएर आफ्ना भाइभतिजा र सालासालीलाई कमाइ गरिदिने माध्यम र मतियार नै बनेका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनाबाट करोडौं रकम कुम्लाएको आरोपमा पूर्वगृहमन्त्रीका छोरा नै मुछिएका छन् भने ती नेता पनि उनीहरूसँगको बाक्लो उठबसमा रहेको तथ्य भेटिएको छ । आरोपितमध्येका एक एमाले सचिव टोपबहादुर रायमाझीले त, हेलिकोप्टरमा गोसाइँकुण्डसहित विभिन्न ठाउँमा घुमेको र ‘अञ्जानवश’ सहयोग गरेको प्रष्टीकरण नै दिएका छन् । प्रहरीले गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक नै सार्वजनिक भएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र छोरा निरज पनि गिरोहमा संलग्न रहेको खुलेको छ ।
भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्बास गरिए पनि अलपत्र केही शरणार्थीको समस्या समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा तत्कालीन गृह सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको र त्यहीबेला राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको थियो । गिरोहले ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरेर पैसा संकलन गर्ने गरेको, यही आधारमा गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८७५ जनाबाट प्रतिव्यक्ति १० देखि ५० लाखसम्म उठाएको बुझिएको छ ।
पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजात नै सार्वजनिक भएको छ । यसमा संलग्न भएका दुलाल कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला निजी सहायक रहेका थिए । अहिले दुलाल, भण्डारी, थुलुङ र गुरुङ प्रहरी हिरासतमा रहेका छन् । हिरासतमा रहे पनि उनीहरू विरुद्धको मुद्दा कमजोर बनाउने खेलमा नेपाल प्रहरी रहेको बुझिएको छ ।
गृहका दस्ताबेज गिरोहका हातमा पु¥याउने अधिकारीहरू माथि पर्याप्त अनुसन्धान भएको छैन । उनीहरूलाई जोगाउने गरी फाइल बनाउन दबाब आएकाले अनुसन्धानमा प्रभाव पार्न थालेको स्रोतले जनाएको छ ।





प्रतिक्रिया