देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विधेयकलाई छिट्टै अगाडि बढाउँछौंः गृहमन्त्री श्रेष्ठ

देशान्तर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयकलाई छिट्टै अगाडि बढाइने बताउनुभएको छ ।

आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

सो सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न नसकिने भन्दै गृहमन्त्री श्रेष्ठले संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाइने बताउनुभएको हो ।

आफूले गृहमन्त्रीको रूपमा कार्यभार सम्हालेदेखि नै संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाइने बताउँदै आएको उल्लेख गर्दै नागरिकतासम्बन्धी केही विषयमा भने राष्ट्रिय सहमति गर्ने बताउनुभएको छ ।

उनले त्यसबारेमा सबै राजनीतिक दलसँग छलफल गरिने पनि बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनका माध्यमबाटै जनताको जीवन फेर्नु, समृद्धिमा गुणात्मक फड्को मार्दै लक्ष्य हासिल गर्नु सरकारको अहिलेको मुख्य प्राथमिकता भएको र यही उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको बताए।

गृहमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका काम अनुरूप राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने र सेना समायोजनको काम पूरा भए पनि संक्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकोले यसलाई पूरा गर्न ढिलाइ गर्न नहुने बताए।

‘यसको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ,’ उनले भने।

गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको स्वीकार गर्दै एक दुई दिनमै अर्थतन्त्रका समस्या पहिचान गरी त्यसको समाधानको उपाय अपनाउने गरी सरकार अघि बढेको दाबी गरे।

मन्त्रिपरिषद्ले पूर्णता पाउन केही समय लागेकाले मुलुकको अर्थतन्त्र सुधारका लागि हुनुपर्ने प्रयासमा केही ढिलाइ भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।