काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनलाई शपथ गराएका हुन् । उनी आजै मन्त्रीमा नियुक्त भएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
सो मन्त्रालयको जिम्मेवारी यसअघि मन्त्री महिन्द्र राय यादवले सम्हाल्दै आएका थिए । अहिले यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।आचार्य पार्टीभित्र संस्थापनइतर अर्थात् डा शेखर कोइरालानिकट नेता मानिन्छन् । शेखर समूहकै ‘कोटा’बाट उनी मन्त्री बनेका हुन् ।६५ वर्षीय आचार्य यसअघि सिँचाइ राज्यमन्त्री बनिसकेका नेता हुन् । हाल उनी प्रतिनिधिसभा सदस्यसँगै कांग्रेस लुम्बिनी प्रदेश महामन्त्रीको जिम्मेवारीमा पनि छन् । आचार्य कांग्रेस कपिलवस्तुका पूर्वसभापति समेत हुन् ।
गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कपिलवस्तु क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । त्यति बेला साँघुरो मतान्तरसहित विजयी भएका थिए । उनले ३९ हजार १४ मत ल्याएका थिए । उनका निकतटम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार बृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए ।





प्रतिक्रिया