देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कान्तिपुरको महफिललाई के मतलब?


चित्रै चित्रको सँगालो

अनेक छन् थुप्रिँदै गएका

शिक्षक नभएका स्कुलहरू

डाक्टर नभएको अस्पताल

झारफुकको नेटोपछि

सुत्केरी मर्ने, बच्चा मर्ने

बचेका भोकै पर्ने

बाच्नको लागि मुलुक छोड्नु पर्ने

राज्य छैन यहाँ, राजनीति मात्र छ

यो दशा कर्णालीको

त्यहाँको मात्र होइन,

कालीको पनि हो

मुलुकको आली आलीको हो

 

यो व्यथा

हिमालमा थुप्रिएको फोहोर देखि

खुम्चिँदै गएका हरियाली फाँटका हुन्

कसले हेर्ने कान्तिपुरलाई?

कसले सुन्ने यो आर्तनाद?

हुकुम कान्तिपुरमा

हुकुमत कान्तिपुरको

भन्डारा लागेको छ अयोग्यको लागि

 

राष्ट्र-ढुकुटीको श्राद्ध गरेर

तस्करीको खिर खानेहरू होईन, मानव तस्करीको खिर खानेहरू

अल्हादित छन् पागल-गृहको खैलाबैलामा

एउटै नारा, एउटै आवाज

ढुक्क लुट्ने, ढुक्क खाने

 

समाजवादको यात्रामा

यही हो अग्रगमन

धम्की, लचकता र लेनदेनको

हो, कमरेड – समाजवादको यात्राको

जय नेपालको नाराको

अरू आवाज सुनिँदैन

न कर्णालीको, न कालीको

मृत्युवरण होस् या चीरहरण

मुहान हराओस् या सीमा गायब होस्

 

कान्तिपुरको महफिलमा समाजवादको गीत गाउने

उन्मत्त मुसदन्डहरूको लागि

मुलुक रहोस् या नरहोस्

के मतलब?

रहनु पर्ने आफू मात्र हो

ब्रह्मनालमा नपुगे सम्म

 

दलाली गरेर होस् या मुलुक बेचेर

मालिक रिझाउने हो

यो खेलको रूपान्तरण

समाजवादको परिणति

होइन, मुलुकको परिणति

काली र कर्णालीका चित्रहरू

अरू बीभत्स छन्

तर समाजवादको यात्रामा

जतिसुकै बीभत्स भए पनि

जतिसुकै मुलुकको जात्रा भए पनि

कान्तिपुरको महफिललाई के मतलब?