देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने

बयानमा पोलिएका तर प्रमाण फेला नपरेका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

देशान्तर

खाँणलाई गिरोहलाई संरक्षण गरेको भनेर मुद्दा चलाउन सिफारिस

 

काठमाडौं । करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन पेस गरिएको हो ।
उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बुधबारसम्म् जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता सहितको आठजानाको टिमले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउनेछ ।
यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ । संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

पक्राउ परेका १६ जनालाई मंगलबार (भोलि) फेरि थुनामा राख्न म्याद थप गरिने छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट अनुमति लिइनेछ । यसैबीच पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ ।
त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलबाट अनुसन्धानका क्रममा आरोप पुष्टि हुने प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।

गत वैशाख २७ मा पक्राउ परेका खाँणमाथि लगाइएको आरोप पुष्टि गर्ने प्रमाण खोज्न प्रहरीले उनको मोबाइल नियन्त्रणमा लिएर ‘डेटा रिकभरी’का लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा लगेको थियो । मोबाइलको ‘डेटा रिकभरी’ गरेर हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बद्ध विषयवस्तु, तस्बिर ग्यालरी, एसएमएस ,ह्वाट्सएप, भाइबर तथा फेसबुक म्यासेन्जरमा नदेखिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रमाण फेला नपरेपछि प्रहरीले खाँणलाई गिरोहलाई संरक्षण गरेको भनेर मुद्दा चलाउन सिफारिस गरेको जनाएको छ । यो प्रकरण उच्च राजनीतिक नेतृत्वसम्मै पुग्ने अनुमान गरिएपनि तत्कालका लागि त्यस्तो हुन नसकेको प्रहरीले जनाएको छ । तर, अनुसन्धान नरोकिने भएकाले भविष्यमा पनि दोषीहरू अनुसन्धानको दायरामा आउने प्रहरीको विश्वास छ । पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ । प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ ।

फरार रहेकाहरूको सूची

यस प्रकरणमा प्रहरीले फरार रहेकाहरूको सूची पनि बुझाएको छ । फरार रहेका प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।

त्यस्तै, बयानमा पोलिएका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जनाहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहित २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि सिफारिस गरिएको छ ।