काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले आज बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दै छ । यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने थप १६ जनालाई फरार प्रतिवादी बनाएर अभियोगपत्र दायर गर्न प्रहरीले राय दिएको थियो ।
यसैबीच भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय चुहिएको बारेमा उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरबीच छलफल भएको छ ।
भेटमा अतिरिक्त महानिरीक्षकहरू पनि सहभागी थिए । गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको थियो । छलफल पछि अनुसन्धानको विषय बाहिरिएको बारेमा छानबिन गर्ने निर्णय भएको बुझिएको छ ।
गृहमन्त्री श्रेष्ठले ‘प्रहरी मुछिएको’ विषयमा गहिरो चासो राखेका थिए । गृहमन्त्रीसँग भेटेपछि आईजीपी कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका अधिकारीहरुसँग छलफल गरेका छन् । उनले पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा असन्तुष्टि जनाएका थिए ।





प्रतिक्रिया