देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रजातन्त्रवादी प्राध्यापक संघको चुनाव स्थगित हुदैन : डा. शेखर कोइराला

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले प्रजातन्त्रवादी प्राध्यापक संघको राष्ट्रिय अधिवेशन समयमा नै हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार कोइराला निवास विशालनगरमा संघका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा उनले लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष भनेको नै अधिवेशन रहेको भन्दै संघको राष्ट्रिय अधिवेशन समयमै हुनुपर्नेमा आफ्नो जोड दिएका हुन् । अधिवेशनबाट आउने नयाँ नेतृत्व सकेसम्म सहमतिमा र नभए लोकतान्त्रिक पद्धतिबाट चयन गर्न पनि उनले सुझाव दिए।

 नेता कोइरालाले प्राध्यापकहरुको हक र हितको लागि संस्थाले उदाहरणीय काम गरिरहेको भन्दै अब विश्वविद्यालयको सुधार र प्राज्ञिकस्तर वृद्धिमा लाग्न संघलाई सुझाव पनि दिए । उनले अब आउने नयाँ नेतृत्वले यी विषयलाई समेटेर अघि बढ्नेमा विश्वास व्यक्त गरेका छन् ।

 भेटमा संघका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले आम प्राध्यापकका मुद्दा समेट्न  र संगठनलाई गतिशील बनाउन पाँचौं राष्ट्रिय अधिवेशन अपरिहार्य भएको बताए । कोरोना महामारी र आम चुनावका कारण यसअघि पटकपटक सर्दै आएको पाँचौं अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्नेगरी आफूहरू तीब्र तयारीमा लागेको उनको भनाइ थियो। भेटमा अध्यक्ष तिमिल्सिनाले महाधिवेशनको विशिष्ट अतिथिको रूपमा उपस्थितिका लागि कोइरालालाई निमन्त्रणा पत्र समेत प्रदान गरेका थिए ।

 संघको राष्ट्रिय अधिवेशन आगामी जेठ १९ र २० गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । महाधिवेशनले आगामी तीन  वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अहिलेसम्म अध्यक्ष पदका लागि वर्तमान सचिव विष्णु पोख्रेलले मात्रै दाबेदारीको घोषणा गरेका छन् ।