काठमाडौं । नेपाल बार एशोशिएशनले रेशम चौधरीको आममाफी विधिको शासन र संवैधानिक सर्वोच्चता विपरीत भएको ठहर गरेको छ । एक विज्ञप्ति जारी गर्दै बारले आममाफीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
बारले नेपालको संविधानको धारा २७६ ले राष्ट्र प्रमुखको हैसियतले अदालत, न्यायिक वा अर्धन्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी परिवर्तत वा कम गर्न सक्ने संवैधानिक प्रावधान रहेकोमा सोको प्रयोग कानूनको परिधि भित्र रही गर्न पर्ने निर्दिष्ट गरेकोमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा २४ र ३७ द्वारा निर्दिष्ट प्रावधानको प्रतिकूल सजायको माफी मिनाहा हुन सक्ने परिकल्पना नगरेको उल्लेख छ ।
गणतन्त्र दिवसमा विभिन्न अदालतबाट भएको सजायलाई माफी दिइँदा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै टीकापुर घटनाका दोषीलाई राष्ट्रपतिबाट माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणाविपरीत भई यस्तो कार्यले दण्डहिनताले प्रशय पाउने बारको निष्कर्ष छ ।
नाउपाका संरक्षक समेत रहेका रेशम चौधरीले भने टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।
कारागार मुक्त भएपछि कुरा गर्दै उहाँले टीकापुर घटनाको कथा अर्कै रहेको, पटकथा अर्कै लेखिएको र फिल्म अर्कै बनेको बताउनु भएको हो । टीकापुर घटना बन्द कोठामा भएको होइन भन्दै उहाँले घटना देख्ने हजारौं आँखाहरू साक्षी रहेको तर्क गर्नुभयो । घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै उहाँले घटनामा मारिएका प्रहरीका आफन्तहरुले पनि न्याय पाउनु पर्ने माग गर्नुभयो ।





प्रतिक्रिया