काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको गलत निर्णय गर्नबाट पार्टीलाई सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे ।
महामन्त्री थापाले नयाँ पुराना कोहीसँग डराउन नपर्ने तर, पार्टीमा जहाँ रोग लागेको छ, त्यहाँ उपचार गर्नुपर्ने बताए । अब जोखिम उठाउन तयार हुनुपर्ने भन्दै आफ्नो महामन्त्री पदको परवाह नभएको कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार भएको बताए । जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप थापाको थियो ।
यसैगरी थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि जनाए । आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने थापाको भनाई थियो । उनले कांग्रेस विधिको शासन अनुसार चल्ने पार्टीको रुपम कायम हुनुपर्नेमा जोड दिए । थपाका अनुसार नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कुन महिनाको कति गते बस्ने भन्ने निर्धारण गर्ने तयारी पनि गरेको छ । कांग्रेसले जेठ मसान्तभित्र बैठक राख्ने र उक्त बैठकबाट वर्षभर कुन महिनाको कति गते केन्द्रीय समिति बैठक हुने भन्ने निश्चित गर्न लागेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक दलहरूबाटै गणतन्त्र खतरा रहेको बताए । पहिले राजा रहेकाको गतिविधि बढ्नेबित्तिकै गणतन्त्र खतरामा नपर्ने उनको भनाई थियो । भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको कोईरालाको भनाई थियो ।





प्रतिक्रिया