देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले राखेको नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न सरकारसँग नेसपाको माग

देशान्तर

काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भारतीय संसदमा ‘अखण्ड भारतको’ आपत्तिजनक नक्सा राखेको भन्दै त्यसबारे नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउनुपर्ने बताएको छ । पार्टीको जेठ २५ र २६ गते सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै भारतले राखेको उक्त नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न पनि सरकारसँग माग गरेको छ ।

‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न तथा सन्तुलित वाह्य सम्बन्ध सञ्चालन गर्न माग गर्दै नेपाल–भारत बीच उत्पन्न सीमा विवाद सम्बन्धमा यथाशीघ्र वार्ता प्रक्रिया सुरु गरी कूटनीतिक तवरबाट हल गर्न सरकारसमक्ष यो बैठक अपिल गर्दछ’, नेसपाले पारित गरेको प्रस्तावमा भनिएको छ ।

त्यस्तै नेसपाले सरकारबाट पेस नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि पनि त्यसलाई विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेकोमा ध्यानाकर्षण भएको र नागरिकतासम्बन्धी समस्या समाधान गर्न संविधानको प्रावधान र मर्म बमोजिम सबै नेपाली जनताले सहज रुपमा नागरिकता प्राप्त गर्ने व्यवस्थाका गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै  भ्रष्टिकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको बृहत् ध्रुवीकरणसहित नयाँ समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल समेत गरेको छ । शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरेको नेसपाले द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न भइरहेका गतिबिधीको भ्रत्र्सना गरेको छ ।