देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलि राष्ट्रिय ध्वजावाहकले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गर्ने

देशान्तर

काठमाण्डौ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गर्ने भएको छ ।
सञ्चालनमा आएको १३ महिनापछि भोलि बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी मलेसियाको राजधानी क्वालाम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं आउने भएको हो ।

०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको करिब ४० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यहाँ व्यावसायिक उडान गर्नेमा कुवेतको जजिरा एयरलायन्स मात्रै थियो ।

जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् । यसैबीच भैरहवामा व्यावसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने भनेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने र तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरूसहित ८/१० जना भैरहवामा अवतरण गर्ने र बाँकी काठमाडौं ओर्लने जानकारी दिए ।

मलेसियाबाट भैरहवाको उडान समय ४ घन्टा ४५ मिनेट हाराहारीको हुनेछ । भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारीको हुनेछ । नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूको स्वागत गर्न पर्यटन मन्त्री सुदन किराँती भैरहवा जाने कार्यक्रम तय भएको छ ।