काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाइएको तारबार काटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई स्पष्टीकरण सोधेको छ ।
पूर्वजानकारी र सूचना नदिई महानगरका प्रमुख मेयर साहको निर्देशनमा विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार भत्काएपछि प्राधिकरणले शुक्रबार मेयर साहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो । प्राधिकरणले महानगरको यस कार्यलाई कानुनविपरीत भएको जनाएको छ ।
प्राधिकरणका अनुसार अनुसार महानगरको वडा नम्बर ९ मा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगाइएको तारबार महानगरले बिहीबार काटिदिएको थियो । यसै सम्वन्धमा प्राधिकारणले मेयर साहलाई ७ दिन भित्र स्पष्टीकरण दिन चिठ्ठी काटेको हो । यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै बालेनले भनेका छन्, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्रै देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ । साथै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्नसमेत अनुरोध गरिन्छ ।” आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको छ ।





प्रतिक्रिया