काठमाडौं । सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए । विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो ।
लगत्तै सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री लामाले प्रतिपक्षी दलहरुसँग सहमति भएको भन्दै बजेट कार्यान्वयन गरेर जाने बताए ।
उता लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेटमाथिको छलफल सकिएको छ । आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्दान्तिक छलफल गर्न आह्वान गरिएको प्रदेश सभा बैठक एमालेको अवरोधले अघि बढ्न सकेको थिएन ।

सोमबार बोलाइएको बैठकमा पनि प्रतिपक्षले बजेटमाथि असन्तुष्टी जनाउँदै आफ्नो विरोध जारी राख्यो । बैठक सुरु भएलगत्तै बोल्ने समय पाएका एमालेका प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले सरकारले आफूहरुले राखेको माग नसुनेको भन्दै विरोध जनाए । एमालेको अवरोधपछि एक घण्टा स्थगित गरेर पुनः सुरु भएको बैठकमा एमाले प्रदेश सांसदले नाराबाजी गरिरहे पनि सभामुख तुलाराम घर्ती मगरले बैठक अघि बढाए ।
बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखे । नेपाली कांग्रेसका बसिउद्दिन खाँले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको बताए । उनले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट सरकारले ल्याएको दाबी गरे । राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले बजेटमा क्रमागत योजनाहरु कटौती गरिएको भन्दै त्यसलाई बजेटमा सच्याउन सुझाव दिइन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि राजनीतिक मुद्दमा भन्दा जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले बजेटमा विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्ने भनेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ
एमाले सांसदहरुको नाराबाजीकैबीच बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री धनबहादुर मास्कीले प्रतिपक्षले उठाएको विषयबारे आफूहरु छलफलमै रहेको बताए ।





प्रतिक्रिया