देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपतिमा एमाले अध्यक्ष ओलीले क्षमापूजा गर्दै

देशान्तर


एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै हुनुहुन्छ । तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुग्नुभएको छ।

ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।त्यसको प्रायश्चितका लागि ओलीले क्षमा पूजा गर्न लाग्नु भएको हो ।

यसैविच चन्द्रमास अनुसार आजदेखि साउने सोमवारको व्रत शुरु भएको छ । तर सौरमासअनुसार भने अर्को हप्तादेखि मात्रै साउने सोमवारको व्रत शुरु हुन्छ । केहीले चन्द्रमास अनुसार र धेरैले सौरमासअनुसार साउने सोमवारको व्रत बस्ने गरेका छन् ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनुभयो ।