काठमाडौं । सुन तस्करीको अहिलेसम्मको तथ्यांकमा सबैभन्दा ठूलो परिमाण १०० किलोभन्दा बढी सुन जहाजबाट ल्याइएको दुई दिनपछि भन्सार र सबै सुरक्षा निकायबाट पास भई विशेष सुराकीको आधारमा एयरपोर्टबाहिर सिनामंगलमा राजस्व अनुसन्धानको विशेष टोलीले पक्रनु आफैंमा शंकास्पद घटना हो । सुन समातिनुलाई उपलब्धिको रूपमा प्रचार गरिरहेको सरकारका निकायहरूले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा रगत पसिना बगाएर कमाइ गरी ल्याउने वैदेशिक मजदुरहरूको १ तोलाको सिक्री र १ थान मोबाइल देख्ने भन्सारका कर्मचारीहरू र सुरक्षा निकायका व्यक्तिहरूलाई कडा कारबाही गर्ने र सुनका असली मालिकलाई समाएर देखाउने कि एकअर्कालाई दोषारोपण गर्दै विगतका तस्करीमा जस्तै घटनालाई सामसुम पार्ने सरकारको सामु गम्भीर चुनौती विद्यमान छ । सरकारका मन्त्री र सुरक्षा निकायका प्रमुखहरूको लस्करले तस्कर समातिने अहिलेसम्म छनक पनि देखिएको छैन । कागजीरूपमा मजदुरी गरी खाने भुजेलद्वय नै मालिकको रूपमा देखिन्छन्, अब अनुसन्धानलाई चुनौती यो छ कि– १०० किलो सुनको असली मालिक भुजेलद्वय हुन् कि, सरकार संरक्षित नै छन् ?
हङकङबाट ल्याइएको अहिलेसम्मकै ठूलो परिमाणको झन्डै १०० केजी अवैध सुन विमानस्थल बाहिरबाट बरामद ग¥र्यो । क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । त्यसको तीन घण्टापछि बरामद भएको थियोे । यो काण्डले कुख्यात ‘बिकिनी किलर’ चाल्र्स शोभराजले भनेजस्तै ‘नेपालका विमानस्थलबाट हात्ती पनि सजिलै छिर्छ’ भन्ने पुष्टि भएको छ ।
पछिल्लो सुन तस्करी प्रकरणमा एक चिनियाँ र एक तिब्बती मूलका भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए । भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो ।
सुन तस्करीमा पक्राउ परेका व्यक्तिहरूको पहिचान हेर्दा उनीहरूको बलबुतामा मात्रै तस्करी भएको कुरा कसैले पत्याउन सक्दैन । सर्वसाधारणले खाडीबाट कमाएर ल्याएको मोव्बाइलसमेत जफत गरिने ठाउँबाट ठूलै सेटिङ बिना क्विन्टलका क्विन्टल सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भई बाहिर निस्कन सम्भव हुँदैहुन्न ।
गृह, अर्थ र प्रधानमन्त्री कार्यालय मातहतका निकाय तैनाथ भएको विमानस्थलमा यो हदसम्मको अवैध गतिविधि हुनुमा राजनीतिक संरक्षणबिना असम्भव छ । यो काण्डमा गृह र अर्थ मन्त्रालय मातहतको निकायबाट उम्काइएको अवैध सुन प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले बिमानस्थल बाहिरबाट पक्राउ गरेपछि वर्तमान गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि नैतिकताको प्रश्न उठेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले त शुक्रबार बसेको कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा नै मागे । विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले पनि एयरपोर्टबाट एक पटक हैन २२ पटक क्विन्टलका क्विन्टल सुन छिरेको भन्ने कुरा आएको भन्दै भरियाहरूलाई समातेर सरकारले आँखामा छारो हाल्ने काम नगर्न आग्रह गरे ।
सुन तस्करी प्रकरणमा ठूला व्यापारीको लगानी र उनीहरूलाई राजनीतिक संरक्षण रहेको आशंका गर्नेहरू छन् । अवैध सुन दुई दिन एयरपोर्ट भन्सार गोदाममा राखिनु र भन्सार जाँच पास गरिनुले पनि त्यो आशंकालाई बल पुग्छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको अवैध सुनमा व्यवसायी दीपक मलहोत्राको नाम जोडिएको थियो । यद्यपि उनले पत्रकार सम्मेलन गरेर त्यस्को खण्डन गरिसकेका छन् ।
सुनकाण्डपछि विमानस्थल अवलोकनमा पुगेका गृहमन्त्री श्रेष्ठले तस्करी जहाँसम्म गएर जोडिन्छ, त्यसलाई कारबाहीको दायरामा ल्याइने बताएका थिए । सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम पनि मुछिएको छ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका थिए । राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको भनाइ सार्वजनिक गरेका थिए ।
अनुसन्धानबाट तस्करी गर्ने गिरोहबारे धेरै कुरा थाहा हुँदै जालान् । पक्राउ परेकाको बयानबाट यसमा संलग्न मुख्य व्यापारीसम्म पुग्न सकिने विभागका अधिकारीको अपेक्षा छ । यसमा विगतदेखि नै सुन कारोबारमा संलग्न नाम चलेकै व्यवसायी संलग्न भएको प्रारम्भिक बयानबाट देखिएको अनुसन्धान अधिकृतको भनाइ छ । तर फितलो अनुसन्धानबाट मुख्य नाइके छुटाइने र भरियामात्र फसाइने सम्भावना त्यत्तिकै छ ।





प्रतिक्रिया