देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चेतना भए


रुँदाको आवाज उस्तै

तर पीडा फरक फरक

हिलो उस्तै उस्तै

तर कमल फरक फरक 

मेरो घर आँगन मेटाउनेहरू

मेरा सन्ततिलाई पलायन गराउनेहरू

राष्ट्र, वृक्ष चुस्दै सखाप पारेर

सुनगाभा सरह गमक्क फुल्नेहरू

तिनीहरूप्रतिको आक्रोश उस्तै देखिन्छ 

सप्त स्वरबाट असीमित संगीत संयोजन 

प्रत्येक धुन फरक 

तर प्रत्येकको मुहान महानाद

त्यस्तै त्यस्तै हुन्छ आर्तनाद पनि

जब दिनलाई रात बनाएर 

म माथि रजाइँ गरिन्छ

आक्रोश के कुरा हो र ?

सिंगो ज्वालामुखी निलेको मान्छेलाई

आगोको गुण एउटै हो

तर स्वरूप फरक हुन्छ 

नभुलौँ, लाचार बनेर रोएको मान्छे

साकार बनेर आगो हुन सक्छ

सिकन्दरलाई गालीगर्ने मात्र होइन,

उसको नामनिसान मेटाइदिन पनि सक्छ

चेतना भए ।