काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन प्रकरणमा गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै यसलाई अन्यथा भन्न नमिल्ने बताएका छन् । तर कुन कानुन टेकेर भन्सार विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा पठाएको भनेर रविले प्रश्न गरेका छन । हिजो संसद बैठकमा गृहमन्त्रीले जवाफ दिदै ३५ दिन अनुसन्धानका लागि पर्खन आग्रह गरेका थिए ।
नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि संसद भवन परिसरबाटै संसदभित्र जसरी सभामुखलाई सम्बोधन गरेर आफ्नो धारणा राख्दै लामिछानेले उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने दाबी गरे । उनले अनुसन्धान गरिरहँदा अर्थ मन्त्रालयका वा प्रहरी प्रमुख नै किन नहुन्,संलग्नता छ कि छैन भन्ने शंकाको विषय भएको रहेको बताए ।
सीआईबीलाई ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शंका नगर्ने तर अहिले जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने जिकिर गरे ।
सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न पनि माग गरे ।





प्रतिक्रिया