देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेयर र कार्यकारीको मिलीभगत

देशान्तर

वीरगन्ज । वीरगन्ज महानगरपालिकाभित्र भ्रष्टाचारले चरम सीमा नाघेको छ । पूर्वमेयर विजयकुमार सराबगीले वीरगन्ज महानगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुबाएको भएता पनि सम्बन्धित निकायले कानमा तेल हालेर बसेको प्रतिक्रिया दिएका छन् । संघीय सरकारको प्रतिनिधिको रूप अनियमितता रोक्न र सुशासन कायम गर्न वीरगन्ज महानगरपालिकामा पदासीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल पाएसम्म दुवै हातले सोहर्ने चरित्रको भएको र उनको हिमचिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका पदाधिकारीहरूसँग भएकोले वीरगन्ज महानगरभित्र हाकाहाकी लुटतन्त्र मच्चाउने काम भएको चर्चा चलेको छ ।

ई–बिडिङमार्फत आह्वान गरिएकोे टेन्डरमा समेत गोलमाल गरेर मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायतकाहरू एक करोड २० लाख झ्वाम गरेको घटना बाहिरिएको छ । गत आर्थिक वर्षको २६ असोज २०७९ मा ३२ वटा वडाको लागि तीन सिलिन्डरको ट्र्याक्टर चाहिएको सूचना प्रकाशन गरी ई–बिडिङमार्फत टेन्डर आह्वान वीरगन्ज महानगरपालिकाले गरेको थियो ।

महानगरपालिकाले तोकेको विशिष्टीकरण (स्पेसिफिकेसन) मेयर सिंहको नजिकका व्यापारी रवि मानन्धरको कम्पनीसँग नमिले पछि बिनाकारण टेन्डर बदर गरियो । जबकि तुलस्यान ट्र्याक्टर्स, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, खेसारी चन्द्र वर्णवाल, ओमनी अटो मोबाइल्स र अर्थ अटोबिल्स प्रालिले भरेका थिए । टेन्डर तुलस्यान ट्र्याक्टर्सलाई परेको थियो ।

त्यसको केही महिनापछि बजारको चलन चल्तीमा हराउँदै गएको एक सिलिन्डरको विशिष्टीकरण (स्पेसिफिकेसन) उल्लेख गरी १४ चैत्र २०७९ मा दोस्रो पटक टेन्डर आह्वान गरियो । रवि मानन्धरको बिना एग्रो इन्टरप्राइजेजले आयसर ट्र्याक्टर र टेलर आठ लाख ५० हजार पर्नेलाई बाह्र लाख २५ हजार मूल्य कायम गरी टेन्डर भर्‍यो । एक मात्र रवि मानन्धरको टेन्डर परेकोले उनको टेन्डर सदर गरी दुई करोड ७२ लाख दिनुपर्ने ठाउँमा तीन करोड ९२ लाख भुक्तानी गरेर प्रतिट्र्याक्टर तीन लाख ७५ हजारको दरले कुल ३२ थान ट्र्याक्टरमा एक करोड २० लाख मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र अन्य कर्मचारीहरू बाँडीचुँडी खाएको आरोप छ ।

प्रतिस्पर्धा हुने मोडेलको ट्र्याक्टर किन छनोट प्राविधिकले गरेन, हराउँदै गएको एक सिलिन्डरको ट्र्याक्टर किन छनोट भयो यसबारे कोही बोल्न चाहँदैनन् ।
पत्रकारहरूले भ्रष्टाचारबारे समाचारपत्र अनलाइनमा समाचार लेखेपछि मेयर राजेशमान सिंहले सार्वजनिक कार्यक्रममा मेरो कार्यालयमा भ्रष्टाचार भएको छ भने आएर छानबिन गर्न अख्तियारलाई निम्ता दिँदा नआएको सफाइ दिँदै हिँडेका छन् ।