काठमाडौं । ‘चितुवा कराउनु र बाख्रो हराउनु’ भन्ने नेपाली उखान यतिबेला सांसद सुनील शर्मा पक्राउ प्रकरणमा चरितार्थ भएको नेपाली राजनीतिक बजारमा चर्चा हुन थालेको छ । करिब दुई साताअगाडि एक क्विन्टल सुन प्रकरणका मुख्य योजनाकार गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महत भएको दाबी गर्दै संसद्मा राजीनामा माग्दै शर्माले नदिएमा आमरण अनशन बस्ने चेतावनीसमेत दिनु र उनी नाटकीय रूपमा पक्राउ पर्नु र अदालतको आदेशबाट भोलिपल्टै रिहा हुनुलाई प्रतिशोधको राजनीति हो कि भन्ने आशंका व्याप्त छ । हुन त, सांसद शर्माको विगत विवादास्पद भएको जगजाहेर छ, उनलाई पक्राउ गरिएको नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरण ७ वर्ष अगाडि पनि उठेको थियो । त्यतिबेला सामसुम भएको मुद्दालाई उचाली संसद् चलिरहेको अवस्थामा सभामुखको अनुमतिबेगर पक्राउ गरी पछि जानकारी गराउनुलाई पनि कानुनसम्मत मानिएको छैन । त्यसमाथि कांग्रेसमा संस्थापनपक्ष इतरका भनेर चिनिएका शर्माको पक्राउले सत्ता गठबन्धनमा ठूलै तरंग पैदा गर्ने सम्भावना देखिन्छ ।
शर्माले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनशन बस्ने घोषणासमेत गरेका थिए ।
नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका शर्माले एक रात प्रहरी हिरासतमा बिताए । तर अर्को दिन अदालतको आदेशपछि हिरासत मुक्त भए । प्रहरीले पक्राउ गर्नुअघि उनले उत्तर कोरियाको राज्यसत्ताले आफूलाई गिरफ्तार गरेको भनेर व्यंग्य गरेका थिए ।
‘उत्तर कोरियाको राज्यसत्ताद्वारा गिरफ्तार सुनील शर्मा आई एम ह्याप्पी’ शर्माले भनेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस सांसद शर्मा पक्राउबारे संसद् सचिवालयलाई पक्राउपछि मात्र जानकारी गराएको थियो । उनलाई पक्रनुअघि संसद् सचिवालयलाई जानकारी गराइएको थिएन । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकोले उक्त कसुरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनीलकुमार शर्मा पक्राउ परेका, फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनीलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज सुनीलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ । पत्रमा भनिएको थियो ।
शर्माको सचिवालयले सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा उनलाई पक्राउ गरिएको बताएको थियो । शर्माको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको थियो । कांग्रेस संसदीय दलको बैठकमा पनि शर्मा पक्राउबारे पक्राउ नगरी पनि अनुसन्धान गर्न सकिने भए पनि प्रतिशोध साँध्न र कांग्रेस सांसद घटाउने उद्देश्यले शर्मालाई पक्राउ गरिएको भनाइ सांसदहरूले राखेका थिए । शर्माको पक्राउ स्वाभाविक नरहेको धारणा कांग्रेसका सांसदहरूले राखेका थिए । हिरासतमुक्त भएपछि शर्माले आफूलाई ३० वर्ष पुरानो फाइल खोलेर तेस्रोपटक पक्राउ गरिएको भन्दै राज्यसत्तामा टिकिरहन आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाए । शर्माले सुन तस्करका संरक्षक स्वयम् गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत रहेको दाबी गरेका थिए ।
उनले शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर ‘गुन तिरेको’ भन्दै कांग्रेसले नेकपा (माओवादी केन्द्र)सँगको सहकार्य तोड्नुपर्ने सम्मको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठविरुद्ध आक्रामक भएका शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भने ‘विशेष धन्यवाद’ दिएका थिए । शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि ‘पितासरह’को भूमिका निर्वाह गरेको भन्ने उनको भनाइलाई अर्थपूर्णमा रूपमा हेरिएको छ । ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई पक्राउ गरिएको बताएका थिए । उनको पार्टी एमालेले संसद्मा शर्माको पक्षमा वकालत गरेको थियो । शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले शर्मालाई किन पक्राउ गरेको भन्दै प्रश्न गरिन् । “पटकपटक उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्ने सांसदलाई आपत्ति गर्न चाहन्छु,” उनले भनेकी थिइन् ।
शर्माले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए । तर पार्टी सभापति शेरबहादुर देउवाको नाम भने लिएनन् । उनलाई स्वागत गर्न पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि शर्माले धन्यवाद दिएका थिए ।
शर्मालाई लिखतसम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न सीआईबीले अनुमति मागेको थियो । तर जिल्ला न्यायाधीश दण्डपाणि शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्माबाहेक अन्य चिकित्सकलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरेको छ ।





प्रतिक्रिया