देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

देशान्तर

काठमाडौं । केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेका हुन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापको राजेन्द्र थापा, शुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको उच्च जोखिममा परेका छन् । ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका छ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पोहिरोको जोखिममा परेको प्रमुख खत्रीको भनाइ छ ।

पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोलीनै खटाएको छ । विपद् व्यवस्थापन टोलीले पहिरो निरीक्षण गरी सडक तथा घर बस्ती जोगाउन आवश्यक पहल तत्कालै सुरु गर्ने गरेको छ । नगरपालिकाले पीडितलाई तत्कालै त्रिपाल, प्लास्टिक बोरा, पाइप वितरण गर्ने तथा पहिरो रोकथामका लागि आवश्यक कार्य गरिरहेको छ । दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले टेवा पर्खाल लगाउने काम पनि गरिरहेको छ ।

नगरपालिकाले विपद् राहत कोषका लागि चालु आर्थिक वर्षमा तीन करोड बजेट छुट्याइएको छ ।

सूर्यविनायक१० चित्तपोलको बस्ती पनि पहिरोको जोखिममा परेको छ । चित्तपोल, गुण्डु र सिफाडोल क्षेत्रका बस्ती पहिरोको उच्च जोखिममा परेको हो । पहिरोको जोखिममा परेका नौ घरका लागि पहिरो रोकथामका लागि सामग्री पठाइएको छ ।

सूर्यविनायककै घ्याम्पेडाँडा रानीकोट सडकमा दैनिक पहिरो जाँदा रानीकोटका पर्यटकीय बस्ती जोखिममा परेका छन् । काभ्रेपलाञ्चोक पनौती कुशादेवीबाट आउने सडकमा सवारी आवागमन पनि अवरुद्ध भएको छ ।