देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा

देशान्तर


काठमाडौं । इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् ।


मंगलबार राती भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको स्पाइस जेटको विशेष विमानमाबाट भारत सरकारसँग समन्वय गरी १८ जना नेपाली नागरिकलाई पनि पठाएको इजरायल,तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्धार गरी ल्याईएका १८ जनामध्ये १४ जना र ४ पुरुष महिला रहेका छन् । जसमा प्रतिभा रौनियार, नन्दसिंह भुल, आतिश गुरुङ, अनुमा डंगोल, हिना खाँड, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, जुनु गुरुङ, राजकुमार मानन्धर, ममता थापा, दिलकुमारी अधिकारी कार्की उर्मिला रावल, निश्चल श्रेष्ठ, सरिता गुरुङ, स्मिता बस्नेत, उर्मिला श्रेष्ठ ,अम्बिका सुवेदी, र लक्ष्मण दुलाल रहेका छन् ।

मंगलबाराति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई गड्डाचौकी नाका हुँदै महेन्द्रनगर ल्याइने बताईएको छ ।

विद्रोही समुह हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्धग्रस्त स्थानका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जना नागरिकको उद्धार गरेको थियो ।

यस्तै, दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच नेपालीको शव तीन दिनभित्र नेपाल पठाउने तयारी गरिरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

गत आइतबार पहिचान खुलेको पाँच जनाको शवलाई स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो ।

जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, बौनिया–३ कैलालीका आशिष चौधरी,जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शवलाई नेपाल पठाउने दूतावासले उल्लेख गरेको छ । दुई देखि तीन दिनभित्र शव स्वदेश पठाउने दूतावासले जनाएको छ । बाँकी पाँच नेपालीको पहिचान खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।