काठमाडौं । पार्टी छोड्ने, फोड्ने अनि नयाँ गठन गर्न माहिर राजनीतिज्ञको छवि बनाएका पात्र हुन्, डा. बाबुराम भट्टराई । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४२ बुँदे मागपत्र बुझाएर कथित जनयुद्ध सुरु गरेका भट्टराई शान्ति प्रक्रियामा आउँदा र संविधान निर्माणको चरणमा मुख्य भूमिकामा रहे । शान्ति प्रक्रियामा आएपछि एक पटक अर्थमन्त्री र एक पटक प्रधानमन्त्री भएका भट्टराईकै पालामा पहिलो संविधानसभा विघटन भएको थियो । पछि दोस्रो संविधानसभाबाट संविधान जारी गर्दा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको हैसियतले काम गरेका थिए ।
२०७२ असोज ३ गते संविधान जारी भएपछि उनले पुरानो पार्टी माओवादी केन्द्रबाट बिदा भएर नयाँ शक्ति निर्माणका लागि लागे । तर, नयाँ शक्तिबाट उनको दोकान नचलेपछि उपेन्द्र यादवसँग एकता गरेर जनता समाजवादीमा लागे । तर, उपेन्द्र र बाबुरामको खटपट पर्दा त्यहाँबाट बाहिरिएर नेपाल समाजवादी पार्टी बनाए । अस्थिर राजनीतिज्ञको रूपमा रहेका बाबुरामले २०७९ को चुनावमा गोर्खाबाट उम्मेदवार बन्ने चर्चालाई खारेज गर्दै आफ्नो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा लगाए र आफू उम्मेदवार नै बनेनन् । बरु छोरी मानुषीलगायत पार्टीका अन्य उम्मेदवारलाई माओवादीकै चुनाव चिह्नबाट उठाए । जसमा एक जना महिन्द्र राय यादवमात्रै निर्वाचित भएका थिए भने अरु सबैले चुनाव हारे । चुनावकै बेला भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका लागि प्रक्रिया अघि बढेको जनाइएको छ ।
यसअघि पनि पार्टी एकीकरणका लागि पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न नसेका दुवै दलले मंसिर ३ गते पार्टी एकता संयोजन समिति गठन गर्ने सहमतिमा पुगेका छन् । अहिले नेसपाबाट भट्टराई र माओवादीबाट प्रचण्डको तहमै एकताको वार्ता गर्ने तयारी भएको छ । यदि वार्ता मिलेमा बाबुरामको पार्टी माओवादीमा विलय हुनेछ । तर, नाम भने परिवर्तन हुन सक्ने बुझिएको छ । भट्टराईले एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने तर्क गरेका छन् भने माओवादीका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने बताउँदै आएका छन् । भट्टराईले अब छुट्टै पार्टीबाट काम गर्न नसक्ने भएपछि पुरानै पार्टीमा फर्कने र फेस सेभिङका लागि नयाँ नामको प्रस्ताव गर्नुलाई धेरैले घुमिफिरी रुम्जाटारको संज्ञा दिँदै उनको माओवादीसँग आत्मसर्मणको रूपमा अर्थ लगाएका छन् ।
माओवादीको २०६४ को जस्तो राप र ताप नभएकाले प्रचण्डले अब पुनः पार्टी एकीकरण गर्ने बताउँदै आएका छन् । विगतमा माओवादी आन्दोलनमा साथै रहेकाहरू छिन्नभिन्न भएकाले आफ्नो शक्ति क्षयीकरण हुँदै गएको बुझेका प्रचण्डले अहिले फेरि विभिन्न बहानामा सबैलाई एक गरेर २०८४ सालको निर्वाचनमा माओवादीको साख फर्काउने प्रयासमा लागेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । तर, माओवादीहरू एक भएर पुरानै अवस्थामा आउन भने निकै मुस्किल हुने धेरैले अनुमान गरेका छन् ।





प्रतिक्रिया