देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शर्मा र सुवेदीलाई अनेसास नेपाल च्याप्टरको सम्मान

देशान्तर

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हालै अनेसास बोर्ड अफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा र अनेसासका पूर्व सचिव तथा अन्तर्दृष्टिका प्रधान सम्पादक लाल गोपाल सुवेदीलाई सम्मान गरेको छ । त्यस अवसरमा लाल गोपाल सुवेदीबाट लिखित राहुल–यशोधरा संवाद नामक गीतिनाटक कृतिको लोकार्पण पनि गरिएको थियो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्व र अनेसासका केन्द्रीय सल्लाहकार प्रतीक ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकालले विदेशी प्रकाशकले प्रकाशन गरेका नेपाली साहित्यका कृतिहरूलाई नेपाली स्रष्टा तथा पाठकहरूले पनि किनिदिने चलन गरेमा नेपाली साहित्यको विश्व बजारीकरणमा सहयोग पुग्ने बताए ।

सल्लाहकार रोहिणी शर्माले अनेसासको स्थापनाकालदेखिका गतिविधि तथा आफूले अनेसासका लागि गरेका विशेष कार्यका विषयमा बताउँदै नेपाल च्याप्टरले गरिरहेका कार्यक्रमहरूको प्रशंसा गरिन् । च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले परदेशबाट स्वदेश आएका अनेसास सम्बद्ध स्रष्टाहरूलाई स्वागत सम्मानको परम्परा रहेको जानकारी गराउँदै सम्मानित शर्मा र सुवेदीको अनेसासमा अहम् भूमिका रहेको बताइन ।
विशिष्ट अतिथि लेकालीले अनेसास केन्द्र र बोर्ड अफ ट्रस्टीको भूमिकाको विषयमा प्रस्ट पार्दै नेपाल च्याप्टरको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए ।


सम्मानित व्यक्ति सुवेदीले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि अनुवाद मात्र नभएर नेपाली साहित्यमा अन्य भाषाका समेत कृतिहरू आउनुपर्ने र त्यसलाई मान्यता दिनुपर्ने बताए ।
राजेन्द्र केसीले आफूलाई सुम्पिएको नेपाल च्याप्टरको नेतृत्वकाललाई उदाहरणीय बनाउने कुरा प्रतिबद्धता जाहेर गर्दै सब‌ैको सहयोगको लागि आह्वान गरे। कार्यक्रममा नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव रञ्जना निरौलाले कार्यक्रमको सहजिकरण गरेकी थिइन् ।