देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खरीको बोट र वृद्धाश्रम


तन्नेरीको ज्यान

सधैं बेचिएको छ मुलुकबाट

यसको ओसारपसार

मुलुकको व्यापार

शासकको धाक, आमोद–प्रमोद

एक रात स्त्री–गमनको लागि

शासकले जनताको लाखौं

बेलायती पाउन्ड फालिदिए

हिजो बग्गी, आज गाडीको कतार

हुकुमतको लागि व्यापार

त्यसैको मुआब्जा खाने दौडधुप

घात–प्रतिघात, आपसी विष–वमन अनि द्रव्य–गमन

अहिलेको अग्रगमन

हिजो सानो घेराभित्र सीमित

आज परसम्म फैलिएको

पिचास – द्रव्यनीति 

अहिलेको राजनीति

हिजो टुँडिखेलको खरीको बोटबाट 

आज अन्तबाट

टुँडिखेल खुला चउरको भूगोल मात्र होइन

यो सम्मिलन हो –

धर्म, तन्त्र, शासन र मिथकको

खरीको बोट शक्तिको बिम्ब

छैन अहिले

छ आज शक्ति अन्तको प्रतिबिम्ब

यहाँ त मात्र छायांकन हुन्छ

नयाँनयाँ सिनेमा बन्छ

जनता जनार्दनलाई देखाउन

भाग्यको रेखा कोर्ने नाउँमा

हिजो खरीको बोटबाट राजा हटाइयो

आज अन्तबाट राजतन्त्र

क्रान्तिको भ्रान्तिमा पनि तन्नेरी ज्यान 

त्यसबाट बनेको सिनेमाको क्लाइमेक्स

‘टीके‘ जोडजाडमा 

देखाइएको सिंहदरबारको नाचघरबाट

हिंसाबाट जन्मेको एकाधिकार

भीमको होस्, या जंगको

या सत्र भाइहरूको

सबले तन्नेरीको ज्यानकै व्यापार गरे

रानी पोखरीदेखि देखि त्रिपुरेश्वर

फैलिएको वारपार टुँडिखेल 

शासकहरू बाहेक रैती जनता निषेधित

रैतीले डिलै डिल हिँड्नु पर्ने

शासकले घोडा चढेर आनन्द लिने 

हुस्सु लागेको टुँडिखेलमा

नदेखिने भएका रैतीलाई

अझ अमानवियकरण गरेर 

अनि –

तन्नेरी ज्यान मोर्चामा पठाउँदा

चाँजोपाँजो मिलाउने फराकिलो ठाउँ

युद्ध मेसिनमा दाउरासरह होमिए ती

टुँडिखेलको खरीको बोटबाट

शक्तिको उद्घोष भएर

तिनको ज्यानको बदलामा

प्राप्त लाखौँ पाउन्डको धनराशि 

मुलुकमा नै आएन

चन्द्रको आठ छोराको अंश बन्यो

जहाँबाट प्राप्त, त्यहीको बैंकमा रह्यो

४ करोड १० लास ब्रिटिस पाउन्ड

४ खर्ब ५० अर्ब नेपाली रुपैयाँ

दस वर्ष अगाडिको मूल्यमा 

चन्द्रको छोरा भएर मात्र नहुने

जसको हातमा पुगेन

ऊ टाट भयो

अनि हिरासतमा प¥यो, चोरीको 

जसको हातमा पुग्यो 

पाउनेका सन्तान कोही नेता छन्

कोही आफूलाई परिवर्तनका संवाहक ठान्छन्

आज – 

अन्त लेखिएको नाटक हिंसाको

अनुकूल हुकुमतको लागि

त्यसबाट आएको परिवर्तनमा

अब हिजोको जस्तो तन्नेरीको ज्यान मात्र होइन

मुलुकको तागत पनि व्यापारमा छ

अन्तलाई ‘कम्फर्टेबल’ पार्न 

जे गर्न पनि सधैं तम्तयार हुकुमत 

जुनसुकै सत्ताको व्यापार गर्न पनि तयार

पानीको होस् या खानीको

चुरे होस् या हवाई अड्डाको

किस्ताकिस्तामा नागरिकता बेचेर

प्रतिस्पर्धा गरिरहेका छन् यी आपसमा

मालिक रिझाउने अग्रगामी छलाङमा अब्बल हुन

पिचास–द्रव्य नीतिको राजनीति

यसको बढ्दो रकम स्विस बैंकमा

हुन्डी मखुन्डीबाट 

अनि त – 

बाइस खर्बको ऋण

अठार खर्बको व्यापार घाटा

घट्दै गएको सरकारको आम्दानी

शासकको आमोद–प्रमोद खर्चको लागि

बढेकै छ

बिदेसिएका ज्यानको लामो कतार

कति हलुका छन् ढुकुवा

भन्छन्– रहर पुगेपछि फर्किहाल्छन् नि ! 

बाध्यता र रहर नबुझ्नेले गरेको शासनमा

सुरुङ सकिएपछि पनि उज्यालो हुँदैन

रोइरहेका बाँझो पाखाहरू नदेख्नेले

अझ बेसुरको बोलीमा भन्छन् –

अर्थतन्त्र लयमा आयो

कोरसका द्यौसी बच्चाहरू

लाज पचाएको ढोँगले

मुलुक नै वृद्धाश्रम बनेको छ ।