देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टीकापुर जग्गा प्रकरणमा २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

देशान्तर

काठमाडौं। कैलाली टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

अख्तियारले जोशीसहितका व्यक्तिविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। नगर विकास समितिका पदाधिकारी, कर्मचारी तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा त्यसको तहगत सुक्रिबिक्री गर्ने र हाल कायम जग्गाधनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको घिमिरेले बताए।

जोशीसँग २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ। यस्तै, नगर विकास समितिका तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मीलगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ।