काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका कार्यकता केशरजंग बराललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका छन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको उपकुलपति सिफारिस समितिले १४ जनाबाट ३ जनाको सूची प्रधानमन्त्रीलाई बुझाएको थियो । दोस्रो नम्बरमा रहेका बराल प्रचण्डको जोडबलमा त्रिविको २०औं उपकुलपति भएका हुन् । यसअघि पोखरा विश्वविद्यालयको उपकुलपति भएका बेला विवादित व्यक्तिलाई नै त्रिविको जिम्मा लगाउनुलाई धेरैले राम्रो भने मानेका छैनन् ।
त्रिविका निवर्तमान उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै त्रिवि उपकुलपति पद रिक्त भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने भन्दै खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि प्रक्रिया अघि बढाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए । पहिलो पटक सूचना प्रकाशित गर्दा विवादित भएपछि पुनः केही प्रावधानहरू सच्याएर सार्वजनिक गरिएको थियो । सुरुमा १४ जनाको सर्टलिस्ट निकाल्दा यसअघि विवादित व्यक्तिहरू परेको भन्दै आलोचना भइरहेका बेला त्यहीबाट ३ जनालाई समितिले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । पहिलो नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्राडा केशरजंग बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । बरालले ७६, बुढाथोकीले ७८ र धमलाले ७५ अंक प्राप्त गरेका गरे पनि दोस्रो नम्बरमा रहेका बराल प्रधानमन्त्रीको बलमा नियुक्त भएका हुन् । यसअघि माओवादी कोटामा पोखरा विश्वविद्यालयको उपकुलपति भएका बराल विवादित व्यक्ति हुन् । उनी पोखराको नेतृत्वमा रहेका बेला कलेजहरूलाई सम्बन्धन दिँदा र कर्मचारीहरूलाई स्केलभन्दा बढी तलव खुवाएको भन्दै अख्तियारमा उजुरी परको थियो ।
२०४० मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर बाट उपप्राध्यापकका रूपमा अध्यापन सुरु गरेका बराल ०६४ मा पोखरा विश्वविद्यालयका उपकुलपति भएका थिए । पोखरा विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएपछि उनले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक भएर काम गरेका थिए ।
पाल्पा कुवाडीका ६५ वर्षीय बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । बरालले शुक्रबार नै उपकुलपतिको पदभार ग्रहण गरेका छन् ।





प्रतिक्रिया