देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तरुणदलका नेतामाथि गोली प्रहार गर्ने चार जना सार्वजनिक

देशान्तर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा तरुणदलका नेतामाथि गोली प्रहार गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको  । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज सार्वजनिक गरेको हो।

पकाउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका- २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका- ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत रहेका छन्।

घटनामा संलग्न थप दुई जना फरार रहेकोमा उनीहरूको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने योजनाअनुरुप गिरीबाहेक तीन जना फागुन ७ गते वीरेन्द्रनगर नगरपालिका-४ स्थित गणेश होटेलमा बास बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

फरार दुई व्यक्तिले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराई पूर्वयोजनाअनुसार नेपालगञ्जदेखि सुर्खेत आएर गणेश होटलमा उनीहरू बास बसेका थिए।

एक जना शंकित व्यक्तिले प्रतिवादीहरुलाई विनोद गिरीको घर ठेगानालगायत सबै देखाइ चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ।

गएराति विनोद गिरीको गाडीलाई लक्षीत गरेर उनीहरूले गोली चलाएका थिए। मोटरसाइकलमा पिछा गर्दै वीरेन्द्रनगर नगरपालिका-१ स्थित गैरीचोकमा उनीहरूले एक राउण्ड गोली प्रहार गरेका थिए। त्यस पश्चात उक्त गाडी र मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको थियो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।