देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सम्पादकीय

प्रतिवेदन कार्यान्वयन गर 

देशान्तर

झन्डै पाँच महिनाको अध्ययन, अनुसन्धानपछि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर यतिबेला राजनीतिक, प्रशासनिक तथा व्यावसायिक सबै क्षेत्रमा चर्चा भइरहेको छ र प्रतिवेदनमा कारबाही सिफारिस गरिएका र उन्मुक्ति पाएका व्यक्तिहरूको नामलाई लिएर प्रतिवेदन कार्यान्वयनमा हुने पनि त्यत्तिकै आशंका उत्पन्न भइरहेको छ । सत्ता गठबन्धनकै उच्च तहका नेताहरू र सुरक्षा निकायका विशेषगरी नेपाल प्रहरीका बहालवाला उच्च पदस्थ तथा सेवा निवृत्त व्यक्तिहरूको नामलाई लिएर कार्यान्वयन हुनेमा आशंका बढेको हो । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको १३ अनुच्छेद र ९ अनुसूची रहेको ४८५ पृष्ठको प्रतिवेदन लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय त गरेको छ, तर प्रधानमन्त्री दाहाल नै अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रका उच्च नेताहरूको नामसमेत मुछिएपछि प्रतिवेदन सार्वजनिक नै नहुने र केही तल्लो तहका सुरक्षाकर्मी खासगरी प्रहरीलाई कारबाही गरेर ‘डिसमिस’ हुने हो कि भन्ने चर्चा चल्न थालेको छ । 

विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वएआईजी सहकुल थापा र पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशीसमेत सम्मिलित चार सदस्यीय आयोग गरेको थियो र त्यसलाई पुस १६ सम्म काम सक्न समय तोकिएको थियो । तर, आयोगले काम नसेपछि दुई पटक गरेर फागुन मसान्तसम्मको समय दिइएकोमा १ चैतमा आयोगले प्रतिवेदन बुझाएको हो । 

सरकारले नै असहयोग गरेको गुनासो गरिरहेको आयोगले यसबीचमा ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्श गर्‍यो र त्यसैका आधारमा प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो ।

सीआईबीले न भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि गरिसकेको अवस्थामा आयोगले भने त्यसभन्दा बढी सुन तस्करी भएको हुन सक्ने अनुमान गरेको छ । सीआईबीले दुवै प्रकरणमा ९ विदेशीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको भए पनि तस्करीमा जोडिएका थुप्रै व्यक्तिहरूलाई छाडिएको र पुनः अनुसन्धान गरी थप व्यक्तिहरूलाई मुद्दा चलाउनुपर्ने सुझाव पनि दिएको छ । 

सीआईबीका उच्च अधिकारीहरूले केही आरोपीसँग बयान लिने क्रममा प्रहरीकै सेवानिवृत्त उच्च व्यक्तिको समेत नाम लिएपछि ती व्यक्तिको बयान नै फेरेर उन्मुक्ति दिएको, राजनीतिक व्यक्तिको नाम छुटाएको र तस्करीमा संलग्न व्यक्तिहरूसँग नै मोलमोलाइ गरेको जस्ता विषय सार्वजनिक भएका छन् । खासगरी पूर्वआईजीपी सर्वेन्द्र खनाल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूसहित उनको सचिवालय, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, बहालवाला अर्थमन्त्री वर्षमान पुनलगायत नेताहरूको नाम जोडिएपछि सीआईबीले बयान र आरोपीहरूको सूची काँटछाँट गरेको पाइएको छ । आयोगले सीआईबी प्रमुख किरण वज्राचार्यसहित केही अधिकारीमाथि विभागीय कारबाही नै गर्न सुझाव दिएको छ । तर, मन्त्रिपरिषद्ले शुक्रबार सीआईबी प्रमुख वज्राचार्यलाई प्रहरी हेडक्वार्टर सरुवा गरी हेडक्वार्टरबाट श्यामलाल ज्ञवालीलाई सीआईबीमा ल्याएको छ । आयोगले सिफारिस नै गरेपछि वज्राचार्यलाई कम्तीमा निलम्बन गरी हेडक्वार्टर लैजानुपर्नेमा पर्नेमा कार्यविभाग प्रमुखको जिम्मेवारीसहित लगिएको छ । यसैबाट पनि सरकार आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्न तयार छैन भन्ने देखिएको छ । 

सुन तस्करीमा खासगरी माओवादी र एमालेकै नेता र उनीहरू निकटका प्रहरी अधिकारीको नेक्सस तस्करहरूसँग भेटिएको छ । आयोगको प्रतिवेदन आउनुअघि प्रहरी स्वयंले गरेको अनुसन्धान र मिडिया रिपोर्टहरूले यो कुरा बाहिर ल्याइसकेका थिए । सत्तामा बसेर बम्हलुट मच्चाउनेहरू नै विभिन्न बहानामा एकपछि अर्को गठबन्धन फेरेरै भए पनि सत्ता नछाड्ने र राज्यशक्तिको आडमा रहिरहने प्रवृत्ति जुन देखिएको छ, यसले पनि आयोगको प्रतिवेदन कार्यान्वयनमा देखिएको आशंकालाई बल पुर्‍याएको छ ।