देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुरम्य अनुभूति वसन्तको


‘वसन्त पञ्चमी’को दिन
वाग्देवीको वीणाको मधुरनादसँगै
झङ्कृत ब्रह्माण्डका प्रत्येक पल
भगवान् कृष्णको उद्घोष – ‘अहं वसन्त’
ऋतुराज बनेका कृष्णको प्रतीक्षामा
पञ्चतत्व बदलिँदै गएको
उनलाई स्वागत गर्न
आदि अनादि नभएका आशुतोष
हाम्रो भूमण्डलमा उत्पन्न हुन्छन्

त्यसपछि हुन्छ ऋतुराजको आगमन
मेघराजको आतुर–वर्षा
धरती शस्य–श्यामला
न गर्मी, न जाडो – मौसम सुरुचिको
पालुवा चढेका रंगीचंगी फूलहरू
हराभरा पल्लवित वृक्ष
हरिया डाँडा, काफल पाकेका बन
रूख चढेर काफल टिप्दा देखेको अधुरो गुँड
बनभित्र हराएर रातो ऐँसेलु चाख्दा
अंकुरित कुतकुती फुस्किएको
त्यो अनुभूतिमा लजाएकी बालाले
को हो को हो, कुहुँ कुहँ गरिरहेका चरासँग
रिसाउँदै बात मारेर टार्दाको क्षण
यस्तै क्षणहरू सबैतिर
मान्छे, वनस्पति र प्रकृतिको
ऋतुराजको आगमनमा कुरै अर्को
सबै पल्लवित, सबै रोमाञ्चित

वसन्तपुर परको तीनजुरे डाँडा
विश्व – राजधानी गुराँसको
गुराँसको प्रायः हरेक प्रजातिले
ढकमक्क ढाकेको यो मनोरम स्थल
ल्याएको चाड, खुसीको पर्व
होलीको रङ बनेर प्रवाहित
समतल फाँटका हर्षोल्लासमा
केवल विश्वको अग्लो देशमा
मात्र, विश्वको अग्लो लालीगुराँस
नेपालको इलाम मंगलबारेमा

रमाएका चरीहरूको चिरबिर
दूर देशबाट घुम्न आएकाहरूको अझ रमझम
फल ठुङ्दै, रस चुस्दै
उड्दै वल्लो–पल्लो डाँडा
झर्दै जंगल पुछार नदी छेउमा
साथी खोज्दै, तिर्खा मेट्दै, घर बसाउने धुनमा
ओहोरदोहोर फिरफिर फिरफिर
उडिरहेका नील गगनमा

सरस वसन्तको यो उमंगमा
उडु उडु लाग्ने पंखा नहुँदा पनि
हामी दुई पनि निस्क्यो गुँड छोडेर
रम्न रमाउन परसम्म पुग्यौ
टपटप पानीको बुँद झर्दा
रिमरिम पानीमा यसरी भिज्दा
संगीतमय धुन बनेको हावाको स्पर्श
हेरिरहँदा चारैतिर पर–परसम्म
वरपर पहाडका हरिया थुम्काहरू
केही उक्लिँदा, केही ओर्लंदा
थकान भरिएको आनन्द
यसै गरी हिँडिरहूँ वसन्तको सुरम्यमा