जेठ लागेसँगै बढ्न थालेको गर्मीले तेस्रो साता पुग्नै लाग्दा उखरमाउलो रूप लिएको छ । तराईदेखि हिमाली क्षेत्रसम्मको तापक्रम बढेको छ । मध्य र पश्चिम तराईको तापक्रम ४४ डिग्रीसम्म पुगेको छ । केही दिन यता निरन्तर तापक्रम बढिरहँदा जनजीवन नराम्ररी प्रभावित भएको छ । विशेषगरी गरिखाने वर्ग बढ्दो गर्मीको चर्को मारमा परेका छन् । तापक्रम वृद्धिसँगै तराईका कतिपय जिल्लामा तातो हावाको लहर ‘लू’ चल्न थालेको छ । चर्को घाम र तातो हावाले मानिसहरू घर बाहिर निस्कन सक्ने अवस्था छैन भने घरमै पनि गर्मीले बस्न सक्ने अवस्था छैन । हुने खाने र सम्पन्न मानिसहरूले घरमा ‘एअरकन्डिसनर’ मा बस्ने गरे पनि गरिबहरूलाई भने चर्को गर्मीका बीचमा पनि काममा जानुपर्ने बाध्यता छ । गर्मीकै कहरका कारण तराईमा केही व्यक्तिको मृत्युसमेत भइसकेको छ ।
मनसुन सुरु हुनुअघि हुने छिटपुट वर्षाले भने तापक्रम घटाउन सहयोग नपुग्ने मौसमविद्हरूको भनाइ छ ।
गर्मी बढ्दा अस्पतालहरूमा बिरामीहरूको चाप पनि बढ्न थालेको छ । बढ्दो तापक्रम र शुद्ध खानेपानीको अभावमा मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल, भैरहवा, चितवन, वीरगन्ज, जनकपुरधामलगायत स्थानका अस्पतालमा गर्मीकै कारण उत्पन्न समस्या लिएर बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन् । टाउको दुख्ने, आँखा दुख्ने, पेट दुख्ने तथा छालामा घाउ खटिरालगायत समस्या बढी देखिने गरेको छ । यस्ता समस्या विशेषगरी गर्मीका कारण देखिने चिकित्सकहरूको भनाइ छ ।
मौसमविद्हरूका अनुसार पानी नपरेसम्म गर्मी घट्ने छैन । मनसुन सुरु नभएसम्म पानी पर्ने सम्भावना पनि छैन । जेठ अन्तिममा मनसुन नेपाल प्रवेश गर्ने र त्यसपछि मात्रै तापक्रम घट्ने उनीहरू बताउँछन् । मनसुन सुरु हुनुअघि हुने छिटपुट वर्षाले भने तापक्रम घटाउन सहयोग नपुग्ने मौसमविद्हरूको भनाइ छ ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय संसारभर नै तापक्रम बढ्दो छ । पृथ्वीकै तापक्रम बढिरहेकाले त्यसको असर नेपालमा पनि परेको हो । नेपालमा पछिल्ला केही वर्षयता हरेक वर्ष कम्तीमा १ डिग्री तापक्रम बढ्ने गरेको छ । यसरी तापक्रममा वृद्धि आउनुको कारण ‘ग्लोबल वार्मिंङ’ रहेको जलवायु क्षेत्रका जानकारहरू बताउँछन् ।
बढ्दो गर्मीका कारण जनजीवन यसरी प्रभावित हुँदा र दैनिक ज्याला मजदुरी गर्नेहरूको अवस्था बिजोग हुँदासमेत सरकार र सरकारी निकायहरूले भने कुनै राहत र सुविधाका कार्यक्रम सञ्चालन गरेका छैनन् । यतिसम्म कि ठाउँठाउँमा खानेपानीको अभाव हुँदासमेत खानेपानीको आपूर्तिमा चासो दिइएको छैन । तीनै तहका सरकार र ती मातहतका कार्यालयले नागरिकस्तरमा देखिएको असर न्यूनीकरण गर्न ठोस पहल गरेका छैनन् । गर्मीका कारण बिजुलीको माग बढेको छ । तर, नेपाल विद्युत् प्राधिकरणले बिना सूचना दिनमा होस् वा रातमा बिजुली काट्ने गरेको छ । बिजुली नियमित नहुँदासमेत समस्या बढेको छ ।
जाडो, गर्मी, मनसुनी विपद् नियमित रूपमा आउने समस्या हुन् । गर्मीलगत्तै मनसुनी विपद् सुरु हुन्छ । बाढी, पहिरो र डुबानले देशैभर समस्या निम्त्याउँछ । यी सबैखाले प्राकृतिक विपत्ति सामना गर्न सरकारले पूर्वतयारी गर्नुपर्ने भए पनि अहिलेसम्म सरकारले ध्यान दिएकै छैन । सबैखाले विपत्तिबाट सबैभन्दा बढी प्रभावित हुने तल्लो तहका नागरिक हुन् । दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने नागरिक हुन् । उनीहरूलाई राज्यको साथ र सहयोगको खाँचो रहन्छ । सरकारले थोरै मात्र साथ दिएमा पनि उनीहरूको जीवन सहज हुन सक्छ । त्यसैले सरकारले सबैभन्दा पहिले उनीहरूका लागि योजना बनाउनुपर्छ र सरकार छन्ने अनुभूति दिलाउनुपर्छ ।





प्रतिक्रिया