देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनमा फेरि देखियो संशय


काठमाडौं । सरकार जोगाउन पार्टी फुटाउनेदेखि धाकधम्कीसम्मका हर्कत गरिए पनि वर्तमान सरकार जुनसुकै बेला ढल्न सक्ने अवस्थामा पुगेको गठबन्धनमै सहभागी दलका शीर्ष नेताहरू नै बताउन थालेका छन् । २१ फागुनमा नयाँ गठबन्धन बनेदेखि नै दिनगन्ती सुरु भएको वर्तमान सत्ता गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हेपाहा, मिचाहा र जबर्जस्ती व्यवहारले गठबन्धनका सहयात्री दलहरू चिढिँदै गएका छन् भने सत्तारूढ दलहरूले नै वैकल्पिक गठबन्धनको खोजी गरिरहेका छन् । जेठ १५ गते प्रस्तुत बजेटलाई लिएर सार्वजनिकरूपमै गठबन्धनको सबभन्दा ठूलो दलका नेता ओलीले बजेट माओवादीतिर ढल्किएको टिप्पणी गरेका छन् । यसरी सरकारमै सहभागी दलका शीर्ष नेताहरूले आलोचना गर्न थालेपछि गठबन्धनमा संशय पैदा भएको आंकलन राजनीतिक विश्लेषकहरूको छ । 

सरकारमै रहेको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्लो पटक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको विपक्षी दलहरूको बैठकमा सहभागी भएपछि वर्तमान सरकार छिट्टै ढल्ने अनुमान गर्न थालिएको छ । गठबन्धनमा रहे पनि समान व्यवहार नगरिएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन असहयोग गरेको तथा अन्य प्रदेशमा एकीकृत समाजवादीलाई सहभागी नगराएको जस्ता कारणले रुष्ट बनेका नेपालले सार्वजनिक रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड र एमाले अध्यक्ष ओलीको आलोचना गर्दै आइरहेका छन् । 

प्रचण्ड र ओलीले गठबन्धन जोगाउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटाइदिए पनि त्यो फुटलाई सर्वोच्चले मान्यता नदिन सक्ने सम्भावना बढेको छ । जसपा विभाजनलाई सर्वोच्चले बदर गरिदिएमा र एकीकृत समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएमा वर्तमान सरकार अल्पमतमा पर्नेछ । 

जेनतेन बजेट ल्याएको सरकार बजेट पारित हुँदासम्म कायमै रहन्छ वा रहँदैन भन्ने स्पष्ट नभएको गठबन्धनकै नेताहरूले बताउन थालेका छन् । बजेट पारित नहुँदै सरकार ढल्ने सम्भावना बढेको उनीहरूको बुझाइ छ । 

सत्ता सञ्चालनमा अनावश्यक रूपमा ओली हाबी हुँदा गठबन्धन धरापमा परेको हो । यो अवस्थामा कांग्रेसले वैकल्पिक सरकारका लागि पहल गरेमा ढल्ने विश्लेषकहरूको बुझाइ छ ।